2026/06/06

जनकपुरलाई हराउँदै सुदूरपश्चिम एनपीएलको फाइनलमा

Admin

२०८१-०९-०३

710
Shares

पुस ३, २०८१, काठमाडौँ — विनोद भण्डारीले अर्धशतक बनाएपछि सुदूरपश्चिम रोयल्स बुधबार जनकपुर बोल्ट्सलाई ८ विकेटले पराजित गरी नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको फाइनलमा पुगेको छ ।

भेट्रान ओपनिङ ब्याटर भण्डारीले रन बनाएपछि सुदूरपश्चिमले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा क्वालिफायर १ मा १ सय ४० रनको लक्ष्य १८.३ ओभरमै पूरा गरेको थियो । कर्णाली याक्स र जनकपुरबीच बिहीबार हुने क्वालिफायर्स-२ को विजेतासँग सुदूरपश्चिमले फाइनल खेल्ने छ । फाइनल शनिबार हुनेछ ।

भण्डारीले ५५ बल खेली ३ चौका र ३ छक्कासहित अविविजित ५८ रन बनाए । सैफ जैबसँग पहिलो विकेटका लागि ८ ओभर भित्र ५६ रन जोडेका भण्डारीले ब्रान्डन म्याकमुलेनसँग दोस्रो विकेटमा ५९ रनको साझेदारी गरे । जैबले २१ बल खेलि ३ चौका र २ छक्कासहित ३२ तथा म्याकमुलेनले १९ बल खेली समान १ चौका र छक्काका साथ २३ रन बनाए ।

कप्तान दीपेन्द्रसिंह ऐरी १६ बलमा १ चौका र १ छक्का प्रहार गरी २१ रनमा अविजित रहे । किशोर महतो र ललित राजवंशीले जनकपुरबाट १–१ विकेट लिए ।

यसअघि जिम्मी निशमले २३ बलमा ४५ रन बनाए पनि टस जितेर ब्याटिङ रोजेको जनकपुरले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा निर्धारित २० ओभरमा ९ विकेट गुमाई १ सय ३९ रनमात्र बनाउन सकेको थियो । निशमले फेरि एउटा आक्रामक इनिङ्स खेल्नेक्रममा ३ चौका र ३ छक्का प्रहार गरे ।

ओपनर लाहिरु मिलान्था १४ बलमा १२ रन बनाई दीपेन्द्रको बलमा एलबीडब्लू आउट भए । नियमित कप्तान अनिल साह घाइते रहेको अवस्थामा जनकपुरको नेतृत्व गरिरहेका मार्की खेलाडी आसिफ शेखले १० बल खेली २ चौकासहित ११ रनमात्र बनाउन सके । शुभ कंसाकारले २४ बलमा ४ चौका प्रहार गरी २६ रन बनाए । हर्ष ठाकर १२, अरनिको यादव ११, मोहम्मद मोहसिन र शेर मल्ल समान ३ तथा किशोर महतो २ रनमा आउट भए । आकाश त्रिपाठी ४ रनमा अविजित रहे ।

दीपेन्द्रले सुदूरपश्चिमबाट सर्वाधिक ३ विकेट लिए । उनले ४ ओभरमा २९ रनमात्र खर्चेर ३ विकेट लिए । सैफ जैबले ३ ओभरमा २० रन खर्चेर २ तथा स्कट कुग्लेन र अविनाश बोहराले १–१ विकेट लिए ।

710
Shares

©News Kunja 2021-2026. All rights reserved.